Sunday, September 13, 2015

अमेरिका भास्सिन नचाहेका बुबालाइ अमेरिकाबाट सम्झिँदा

Roshan Shrestha wrote:

Hello all,

I believe, you are worrying about Nepal all day all night as Nepal is going through one of its most crucial time. A lot of things are wrong there and they are not in your control either.  Don't put too much stress on yourself thinking about Nepal.

By the way, today is Nepalese Father's day. Majority of us have our own ways of celebrating father's day. I have article to share with you. You may go through it.

अमेरिका भास्सिन नचाहेका बुबालाइ अमेरिकाबाट सम्झिँदा
http://global.setopati.com/america/1077/

Enjoy.

Thanks
-- 

अमेरिका नबसेका बुवालाई सम्झिँदा

डा. रोशन श्रेष्ठ 


आफ्नै स्मृतिको विगत भने बुबासित डराएर लुक्ने र बुवाको अगाडि आज्ञाकारी बनिटोपल्ने सामान्य बालसुलभ ब्यवहारसम्म सम्झना छ, जसले अझै मलाई काउकुति लगाउँछ। त्यो बेला उहाँ रामपुर क्याम्पसमा प्राध्यापन गर्नुहुन्थ्यो। केही वर्ष बुबासित बालसुलभ लुकामारी गर्दागर्दै उहाँ फेरी २०३८ सालमा पिएचडिको निमित्त अमेरीका जानु भयो। बुबाको अमेरिका बसाई र हामी बाँकी परिवारको नेपाल बसाईको अवधिमा उहाँको अनुपस्थीति साह्रै खट्केको थियो। खानलाउन र बस्न उतिसारो कठीनाई नभएता पनि सगोल परिवारका कारण व्यवहारिक कठिनाइहरु बिकराल हुँदा रहेछन्।

टोलसमाजमा बुबाको दिशानिर्देश नपाएको केटोको रुपमा मैले भोग्नु परेको व्यवहारले समय समयमा निकै घोच्थ्यो। घरपरिवारमा ठूलाबा, काका तथा अन्य आफन्तजनहरुबाट हुने अपहेलना र दुर्व्यवहारले साह्रै पोल्थ्यो। कठीन समयमा आफन्तजनबाट अपेक्षित सद्भाव र सहयोगको अभावका बीच अनपढ आमाको स्वास्थ्य पनि बिग्रिँदा हामी बालबालिकालाई निकै सकस परेको थियो ।

हुर्कँदो उमेरमा बुबाको अनुपस्थीतिले एक बालमस्तिष्कमा उब्जने अनेकौ उत्सुकताको जवाफ खोज्ने ठाउँ नभेट्टाइने रहेछ। समयसमयमा आफैंलाई एक अशक्त, परित्यक्त, असहाय बालक जस्तो, दिशाहिन बालक जस्तो, भीषण रणसंग्राममा एक्लै छोडिएको बाच्छो जस्तो महशुस हुने रहेछ।

उता अमेरिकामा उहाँले पनि दु:खै गर्नु भएको रहेछ। अमेरिकामा २ वटा ठूला सवारी दुर्घटनामा परेर पनि उहाँले संघर्ष यात्रा रोक्नु भएन। स्वस्थ हट्टाकट्टा शरीर भएका विद्यार्थीलाई समेत महादु:खको भुँवरीमा हुल्ने अमेरीकामा उहाँको अघिल्लो दुर्घटनाले गिजोलेको शरीरले थप २ ठूला सवारी दुर्घटनाहरु झेल्नु परेको रहेछ। यता नेपालमा हामी महिनादिन बिराएर आउने चिठ्टीपत्रको नियमितता टुटेपछि सम्भावित कुसमाचारको त्रासमा भगवान पुकारी बस्ने बाहेक अरु उपाय नभएका निरिहहरु थियौं।

अनेकौं अवरोधका वावजुद बुबाले अमेरिकामा निर्धारित समयमै पिएचडि सक्नुभयो। पिएचडि सकेपछि उहाँका समकालीन अन्य नेपाली साथीहरु धेरैजसो अमेरिकामा नै अड्के। उहाँको निमित्त पनि उहाँको प्रोफेसरले अमेरीकि विश्वविद्यालयमा एसिस्टान्ट प्रोफेसरको पदमा काम गर्न निकै जोडबल गरेका थिए । उहाँको पिएचडि एड्भाइजर आफैं निकै सिनियर र प्रभावशाली प्रोफेसर भएको हुँदा काम गरी अमेरीकामा नै बस्ने अवसरहरु मनग्य थिए।

उहाँ ती सबै अवसरहरु परित्याग गरी परिवार र देश सम्झेर नेपाल फर्किनु भयो। अमेरिका भास्सिन चाहनु भएन। केही समय भएपनि काम गरेर, थोरै पैसा जम्मा गरेर फर्क भन्ने आग्रह समेत लत्याएर हातमा सर्टिफिकेट र नेपालबाटै लिएर गएका पुराना लुगाफाटाहरुको पोको बोकेर फर्किनु भयो।

अरुले झै उहाँले त्यो बेला हामीलाई स-परिवार अमेरीका बोलाउन सक्नुहुन्थ्यो । तर, बोलाउनु भएन। न त हाम्रो परिवारमा नै अमेरिका जाने लालसा रह्यो। विदेशमा जहाँसुकै जतासुकै पुगेपनि फर्केर आफ्नै माटोमा फर्किनु पर्छ भन्ने राष्ट्रप्रेमी चेतनाले शायद हाम्रो परीवारलाई छपक्कै ढाकेको थियो।

नेपाल फर्किएपछि उहाँ त्रि.वि.को सहप्राध्यापक, प्राध्यापक र छोटो समयको लागि कृषि तथा पशुविज्ञान संकायको डीन पनि बन्नु भयो।

मेरो बुबा प्रा.डा. ज्ञानकुमार श्रेष्ठ हुनुहुन्छ । नेपालमा हर्टिकल्चरल साइन्सका पहिलो प्राध्यापक, ३८ बर्षको कलिलो उमेरमा नै कुनै राजनैतिक सम्पर्कबिना, दरबारको निगाह बिना नियमित प्रमोशन मार्फत प्राध्यापक हुनु भएको व्यक्ति हुनुहुन्छ। उहाँ नेपाल फर्केपछि म असाध्यै खुशी भएँ। मेरा साथीहरुमाझ मेरो बुबाको बखान गर्ने मौका पाउँदा दिल खोलेर बखान गर्थे। बुबाको अनुपस्थीतिमा भोगेको न्यास्रो बिहानीको शीत बिलाए झैं बिलायो। ती दिनको खुशीहरु म शब्दमा बयान गर्न सक्दिनँ।

उहाँको कर्मथलो चितवन, हाम्रो जीवनचर्या काठमाँडौंमा बित्ने हुँदा उहाँ नेपाल आउनु भएतापनि हामीले सँगै जीवन बिताउन उत्तिसारो पाएनौँ। पाक्षिक तथा महिनादिन बिराएर उहाँ काठमाँडौ आउनुहुन्थ्यो, एक दुई दिन बसेर फेरी चितवन कुदिहाल्नु हुन्थ्यो । त्यसमाथि चाडपर्व धेरै भएका हामी नेवार जाती, उहाँ मौका मिल्ने बित्तिकै चाडपर्व भ्याउन पनि आइपुग्नु हुन्थ्यो र तुरुन्तै फर्कीहाल्नु हुन्थ्यो। यता आमा उहाँको अनुपस्थितिमा मीठो तिउन खान पनि नरुचाउने, मासु खान मन लागे पनि अब बुबा आएपछि खाने भन्नु हुन्थ्यो । यसरी बुबाको सामिप्य अभाव हाम्रो लागि नियमित चर्या बन्यो।

उहाँको नियमित आतेजातेका बीच हामीलाई सधैं सवारी दुर्घटनाको समाचारले तर्साउने गर्थ्यो। त्यसमाथि समय समयमा हुने बन्द हड्ताल चक्काजाम जस्ता घटना र त्यसले ल्याउने दु:खद समाचारले अत्याउने गर्थ्यो। कतै उहाँ बीच बाटोमा अलपत्र फस्नु पो भयो कि भन्न त्रासले सधैं सताइरहन्थ्यो।

कलेज पढ्दाताका बुबाको चितवन-काठमाडौं निरन्तर यात्रा अभियानले हैरान बनेर मैले बुबालाई जागिर छोड्न सुझाव दिइटोपलेँ, 'ह्या!! बुबा, यो दिनरातको टेन्सन छोड्दिनोस, जागिर छोड्नोस, काठमाँडौ बस्नोस्। तपाईं जत्तिको विद्वान प्रोफेसर मानिसलाई यो काठमाडौंमा जति पनि जागिर पाइन्छ । जागिर नै नपाए नि २ - ४ महिनामा हामी भोकै त पर्दैनौ । छोड्दिनोस जागिर ।'

बुबाले मुसुमुसु हाँसेर भन्नु भो, 'जागिर भन्या तँलाई घरको भान्सामा भात मिठो भएन भनेर छोड्या झै सम्झ्याछस कि क्या हो?' बुबाले जागीर छोड्न मान्नु भएन । बरु काठमाण्डौतिर नै काम गर्न मिल्ने काज सरुवा, प्रोजेक्ट, एनजिओ आदिमा प्रयास गर्न थाल्नु भयो । तर उहाँको प्रयास सफल भएन। राजनीतिक सम्पर्कको प्रयोग गर्ने मामिलामा कमजोर हुँदा उहाँले सम्भावनाहरुलाई सार्थकतामा परिणत गर्न सक्नुभएन। उहाँको नाउँ भजाएर बरु अरुले मनग्य फाइदा उठाए ।

बुबाको अनुपस्थीतिमा गुठी लगायतका सामाजिक दायित्वहरु निभाउने जिम्मेवारी मैले पुरा गर्नु पर्दा सामाजिक जीवन बारे मलाई धेरै जानकारी मिल्यो। तैपनि देशकै गिनेचुनेका विद्वानमा गनिने व्यक्तित्व आफ्नै परिवारमा रहँदा पनि उहाँसित मनग्य संगत गर्ने र संगै जीवनयापन गर्ने मौका मेरो लागि दुर्लभ बन्दा मैले आफूलाई एककिसिमले सधैँ खोक्रो महशुस गरेँ। नजानेको कुरा सोध्ने, सँगै बस्ने मौका नजुट्दा मेरो चरित्र नै सायद परिवर्तन भयो।

मेरो कलेज सक्किए लगत्तै म २०५७मा जापान सरकारको पूर्ण छात्रवृत्तिमा विदेशीएँ। सानो परिवार झन् तीनतिर बाँडियो। अब बुवाको सामिप्य टेलिफोन र इमेलमा सिमित हुन थाल्यो। जापानबाट २०६२मा नेपाल फर्किँदा पनि उहाँ चितवन काठमाडौं आवतजावतलाई निरन्तरता दिँदै हुनुहुन्थ्यो।

त्यो समय राजनीतिकि तनाव, माओवादी यूद्ध आदिका कारण तनावग्रस्त थियो। छोटो नेपाल बसाइमा सम्भावित बेरोजगारीले आत्तिएर म अमेरिकातिर काम गर्न हिडे। तत्पश्चात पुन: बुबासितको सामिप्य टेलिफोन र इमेलमा सिमित भयो । २०६७ मा बुबाआमा अमेरिका भ्रमणमा आउनुहुँदा केही महिना सँगै बस्न पाउँदा जीवन स्वर्गमय भएको महशुस भयो । ४ दशक लामो त्रि.वि. सेवामा उहाँले परिवारसित समय बिताउन लिनुभएको सबभन्दा लामो बिदा त्यहि नै रहेछ। मैले आफूलाई धन्य सम्झिएँ ।

हाल उहाँ नेपालमा रिटायर्ड जीवन बिताउनु हुन्छ। अनेकौं दुर्घटना र उपचारका क्रममा प्रयोग भएका औषधीहरुको साइडइफेक्ट अब बुढ्यौलीमा देखिँदो छ। बढ्दो उमेरका कारण शरीर दिनपरदिन जीर्ण बन्दैछ। स्वास्थोपचारको निमित्त अस्पताल धाउन र सामाजिक कार्यहरुमा संलग्न रहन उहाँलाई भ्याइनभ्याइ छ।

अमेरिका भास्सिन नचाहने बुबाको एक्लो छोरो त्यहि अमेरीकामा जीवन गुजारा गर्दै छ। अमेरिकाको जञ्जालमा अल्झिएको छोरोको मन रातदिन नेपालमै केन्द्रीत छ। बुबाआमाको साथ दिन पलपल नेपाल फर्किउँ फर्किउँ लाग्छ। सँगै बसेर मिठो मसिनो खान मात्र पाए पनि धन्य हुनेथिएँ भन्ने लाग्छ।

तर ऊ आफैं विवश छ। नेपालको अस्थीर राजनीति, गिर्दो सामाजिक सुरक्षा, बढ्दो महँगी, रोजगारीको चुनौति, वातावरण प्रदुषण र असुविधाको सकस केही देखिने बहानाहरु हुन्। त्यो भन्दा ठूलो चिन्ता अमेरीकामा हुर्किँदै गरेका सन्तानहरुको भविष्य भएको छ।

नेपालमा बुबाले 'तँ चिन्ता नगर, यहाँ हामी सबै वयवस्था मिलाइराखेका छौं, केही अप्ठ्यारो छैन' भनेर आश्वस्त तुल्याउन खोज्नु हुन्छ। तर आवाजभित्रै त्यहाँ नेपालमा उहाँले भोगीरहनुभएको दैनन्दिन अप्ठ्याराहरु प्रतिध्वनीत हुन्छ। त्यसले मन कटक्क गर्छ।

न अमेरीकामा हुर्कँदै गरेका नातिपुस्ताका सन्तानहरुलाइ नेपाल लगेर पढाउन सक्नु, न नातिनातिनाहरु नेपालमा हुर्किए पनि पछि विदेश नै फर्किनजाला भन्न सक्नु, न नेपालबाट बुबाआमालाई विदेशमा आफूसितै बसोबास गर्न मनाउन सक्नु। कस्तो अप्ठेरो समस्या?

सायद बुबाको मनमा हुँदो हो 'जुन देश मैले यूवाअवस्थामा तिरस्कार गरेर हिडे, वृद्धावस्थामा म त्यहिँ किन जाने? ३-३ पल्ट मृत्युसित पौठेजोरी खेलेर नेपाल फर्केको मानिस हूँ म। जीवनको उर्वरशील ४२ वर्ष योगदान यो देश नेपाललाई गरेको छु। किन मैले नेपालबाट टाढा रहने?'

तर नेपालमा त्यत्रो योगदान गरेको मुल्यांकन खोइ त? उमेर हदबन्दीले २०७० मा रिटायर भएपछि एउटा कागजी खोट देखाएर पेन्सन नै करीब १५ महिना रोक्का गरियो। स-सानो कुरामा कर्मचारी संयन्त्रले दिने दु:खको सिलसिला अनेक छन। आफ्नै मातहतमा काम गरेका कर्मचारीले राजनीतिक आडमा देखाएको बडप्पन, भ्रष्टाचारी मित्रहरुले देखाएको धनको तुजुक, पढाइ भन्दा राजनीतिलाई अघि बढाउन बसेका विद्यार्थीहरुको फुर्ति- यी अनुभवहरु सम्झिँदा अझै पनि उहाँको मन अमिलो हुन्छ होला। त्यसमाथि समाजको सोच बृद्ध मैत्री छैन।

अमेरिकामा छोराछोरीसित बसीरहेका सयौं परिवार छन्, जो हाँसीखुसी नै बसेका देखिन्छन्। आफ्नो बुवाआमाको नेपाल नै बस्ने ढीपी देख्दा कहिलेकाहीँ लाग्छ, बुवाको देशप्रेम एक पागलप्रेमीको प्रेम भन्दा रत्तिभर फरक छैन। अमेरिकामा आफ्ना छोराछोरीसित बसेर नेपालमा बस्ने बुबाआमाको याद गर्ने म र अमेरीकामा एक्लै बसेर नेपालमा बस्ने छोराछोरीको याद गर्ने मेरो बुबा बीच केहि न केहि वैचारीक दूरी पक्का छ। पारिवारिक प्रेम र राष्ट्रप्रेम बीच कहाँनेर कस्तो तादात्म्यता हुनु पर्ने हो, त्यो कुरा बुझ्ने कोशिस गर्दै छु। आफ्नै बुबालाई अझै नजिकबाट चिन्ने कोशीस गर्दैछु।

प्रकाशित मिति: आइतबार, भाद्र २७, २०७२ १३:५६:००

Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments:

Post a Comment